२६ माघ काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार समस्याग्रस्त नेपाल सेयर मार्केट फाइनान्सको व्यवस्थापनमा उपनिर्देशक सन्तोष घिमिरेले नेतृत्व गरेको तीन सदस्यीय टोली पठाएको छ । उक्त टोलीमा सहायक निर्देशकद्धय काजीराम कार्की र प्रकाश श्रेष्ठ छन् ।
राष्ट्र बैंकले गत शुक्रबार टोलीलाई एनएसएमको व्यवस्थापन सम्हाल्न ६ महिनाका लागि पत्र दिएको थियो । राष्ट्र बैंकको उक्त पत्र बोकेर आज मध्यान्न घिमिरेको टोली पुतलीसडकस्थित एनएसएमको कार्यालय पुगेको हो ।
तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठले अढाई अर्ब रुपैयाँ लिएर फरार भएपछि फाइनान्स समस्यामा परेको थियो । श्रेष्ठले एक अर्ब ९९ करोड रुपैयाँ निक्षेप र ६९ करोड रुपैयाँ नक्कली ऋणी खडा गरी आफैं ऋण लिएर २ अर्ब ६८ करोड रुपैयाँ हिनामिना गरेका थिए । जसमध्ये ५५ करोड रुपैयाँ असूल भएको र २ अर्ब १३ करोड रुपैयाँ असूल हुन बाँकी रहेको राष्ट्र बैंकले हालै गरेको ड्यु डेलिजेन्स अडिट (डीडीए)ले देखाएको छ ।
डीडीएमा सम्पत्तिभन्दा दायित्व बढी देखिएपछि संस्थालाई नियन्त्रणमा लिनु परेको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञावालीले जानकारी दिए ।
राष्ट्र बैंकले घिमिरेको टोलीलाई एनएसएमको व्यवस्थापन सम्हालेको ३० दिनभित्र दिएको जिम्मेवारी पूरा गर्ने कार्ययोजना वित्त कम्पनी सुपरिवेक्षण विभागमा पेस गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले छ वटा कार्य गर्न टोलीलाई खटाएको हो ।
राष्ट्र बैंकले एनएसएमलाई २०६८ पुस २८ गते समस्याग्रस्त घोषणा गरेको थियो ।अनलाइनखबर डटकम

Post a Comment