काठमाडौ, माघ १९ - एमाले उपाध्यक्ष बामदेव गौतम केपी शर्मा ओलीलाई संसदीय दलको निर्वाचनमा सघाउन राजी भएका छन् । हिजो राति राजधानीमा भएको दुई नेताबीचको छलफलमा गौतमले सघाउने सहमति गरेका हुन् । उपाध्यक्ष गौतम र महासचिव ईश्वर पोखरेलको समर्थनमा भोलि हुने निर्वाचनपछि ओली संसदीय दलको नेता हुने सम्भावना बढेको छ ।
ओलीलाई सर्वसम्मत दलको नेता बनाउन गौतमले सक्रियता देखाएका छन् । उनले आजै अध्यक्ष झलनाथ खनालसँग ओलीलाई सर्वसम्मत दलको नेता बनाउने बिषयमा छलफलसमेत गरेका छन् । ओली र गौतमबीचको गठबन्धनले आज हुने भनिएको एमालेका सभासद् प्रशिक्षण कार्यक्रमसमेत स्थगित गरिएको छ ।
एमालेमा ओली पक्षीय सभासद् ६५-७०, गौतम पक्षीय सभासद् १५ जना र ईश्वर पोखरेल पक्षीय ५ जना सभासद् भएको अनुमान छ । एमालेसँग प्रत्यकक्ष र समानुपातिक गरी एकसय ७५ सिट छ ।
खनाल पक्षीय नेता गोकर्ण विष्टले गौतमसँग आफ्नो भोट बाहेक अन्य सभासद्को समर्थन नरहेको भन्दै अध्यक्ष खनालको उम्मेदवारी कायम रहेको बताए ।
संसदीय दलको नेता छान्नको लागि एमालेले भोलि केन्द्रीय समितिको वैठक र पर्सी निर्वाचनको कार्यक्रम राखेको छ ।
(इकान्तिपुर डटकम)

Post a Comment