संखुवासभा, माघ १९ - मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा अनुमति नलिई दिनहुँ हेलिकप्टर उड्ने गरेको छ । मकालु बरुण क्षेत्र हुँदै उड्ने हेलिकप्टरले सदरमुकाम खाँदबारी स्थित निकुञ्जको कार्यालयमा अनिवार्य अनुमति लिनु पर्ने प्राबधान छ ।
नीजि कम्पनीका हेलिकप्टर अनुमति नलिई निकुञ्ज क्षेत्रमा दुई सातादेखि नियमित बस्दै आएको छ । चिराईतो चिनतर्फ निकासी गर्ने बाहानामा हेलिकप्टर निकुञ्ज क्षेत्रका बिभिन्न स्थानमा अनधिकृत अवतरण हुँदै आएको हो । निकुञ्जका संरक्षण अधिकृत अणनाथ बरालले अनधिकृत तरिकाले आएका हेलिकप्टरको तथ्यांक संकलन गरिरहेको बताए ।
'निकुञ्ज क्षेत्रमा एक पटक हेलिकप्टर अवतरण गरेबापत ती कम्पनीले २ हजार राजश्व तिर्नु पर्छ, अहिलेसम्म कसैले सम्पर्क समेत गरेका छैनन्', बरालले भने । हालसम्म दैनिक ३-४ फ्लाईट उडान भरेपनि हेलिकप्टर कम्पनीले राजश्व नबुझाएको उनले बताए ।
बरालका अनुसार किमाथांका, हटिया लगायतका क्षेत्रमा निकुञ्जका गेम स्काउटहरुलाई हेलिकप्टरको अनुमति नभए प्रहरीमा बुझाउन समेत पत्राचार गरिसकिएको छ ।
'मैले त्यस क्षेत्रका गेम स्काउटहरुलाई कुन कम्पनीको हेलिकप्टर हो, कति पटक ल्याण्ड गरेको छ पत्ता लगाउ भनेर भनिसकेको छु', उनले भने, 'गैरकानुनी ढंगले उडान भरेका हेलिकप्टरलाई कारबाही गछौ ।'
यहाँ आउने अधिकांस हेलिकप्टर कम्पनीले गृह मन्त्रालयमा अनुमति लिएर आएको बताउदै आएको छ । गृहमन्त्रालयमा अनुमति लिएको भनिएपनि जिल्ला प्रशासन र प्रहरी भने यो कुरामा अनभिज्ञ छ । 'के प्रयोजनका लागि उडान भएको हो थाहा हुँदैन', प्रहरी नायब उपरीक्षक पवन गिरीले भने, 'मैले थाहा पाएसम्म हाम्रो प्रहरी चौकीसँग बुझ्ने हो, त्यो भन्दा बढी सूचना हामीले पनि पाएका छैनौ ।' उत्तरीक्षेत्रमा आएका हेलिकप्टरले तुम्लिटारस्थित नागरिक उड्यायन कार्यालयमा समेत सोझो सम्पर्क गर्देनन् ।
नागरिक उड्यायन कार्यालयसँग उत्तरीक्षेत्रमा कहिले कतिपटक उडान भयो भन्ने तथ्यांक समेत छैन । 'यो क्षेत्रमा हेलिकप्टर उडेको बेला हामीले सम्पर्क गर्दा समेत सम्पर्कमा आउन मान्दैनन'्, नागरिक उड्यायन कार्यालय तुम्लिङटारका प्रमुख निरज पोखरेलले भने, 'सम्पर्कमा आइहाले पनि बिरामी रेक्सक्यूमा आएको भन्ने गरेका छन् । जसले गर्दा महिनामा कतिपटक कुन कम्पनीका हेलिकप्टर आउँछन् हामीलाई थाहा हुँदैन', उनले भने,'तुम्लिङटार बिमानस्थलमा हेलिकप्टरका लागि इन्धन झार्न परेमात्रै उनीहरुले हामीसँग सम्पर्क गर्छन् ।'
माघको पहिलो साताबाट यो क्षेत्रमा आएको २ वटा निजी कम्पनीका हेलिकप्टर रातमा समेत उतै राखिने गरिएको छ । चिराईतो बोक्ने बाहानमा हेलिकप्टरले लोपोन्मुख प्रजातिका जीवजन्तुको समेत अबैध तस्करी गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।
अनधिकृत ढंगले हेलिकप्टर निकुञ्ज क्षेत्रमा अवतरण गरेको बिषयमा संसद्मा कुरा उठाउने संखुवासभा १ का सभासद तारामान गुरुङले बताए । 'हेलिकप्टरको प्रयोग गरेर लोपन्मुख जीवजन्तु पनि ओसार पसार हुन्छ भन्ने सुनेको छु', गुरुङले भने,'त्यसलाई रोक्नु पर्छ ।'
(इकान्तिपुर डटकम)

Post a Comment