२३ माघ, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले सरकार बनाउने प्रयास गरिरहेका बेला कस्ता व्यक्ति मन्त्री बनून् भन्ने जनताको चाहना होला ? यसबारे अनलाइनखबरले गरेको जनमत प्रश्नावलीमा सहभागीहरुले गृहमन्त्रीमा एमालेका वामदेव गौतम वा कांग्रेसका प्रकाशमान सिंहलाई रोजेका छन् भने विगतमा नाम कमाएका गोकर्ण विष्टलाई उर्जामन्त्री बनाउनुपर्ने माग गरेका छन् ।
जनताको रोजाइमा कांग्रेस नेता गगन थापालाई खेलकुद मन्त्री बनाइनुपर्ने इच्छा जाहेर गरेका छन् । केहीले गगनलाई भौतिक योजना मन्त्रालय दिनुपर्ने बताएका छन् । अर्थमन्त्रीमा भने धेरैले कांग्रेस नेता डा. रामशरण महतको नाम लिएका छन् ।
सुशील कोइराला प्रधानमन्त्री हुँदा मन्त्री चाँहि को को भन्ने शीर्षकमा ६ वटा मन्त्रालयको नाम उल्लेख गरेर गरिएको जनमत संकलनका क्रममा यसअघि मन्त्री भइसकेका र नयाँ अनुहारलाई मन्त्री भएको देख्न चाहेका छन् । नयाँ सरकारका मन्त्री कोको बन्दा ठीक होला भन्ने प्रश्नमा केपी ओली, गोकर्ण विष्ट, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, रामशरण महत, धनराज गुरुङ, गगन थापा, चित्रलेखा यादव, कमल थापा, विद्या भण्डारी, वामदेव गौतम आदिको नाम सहभागीहरुले लिएका छन् ।
त्यसैगरी केहीले वैद्य माओवादीका नेता बादल र देव गुरुङसमेतको नाम एकिा छन् भने कसैले डा. बाबुराम भट्टराईलाई अर्थमन्त्री बनाउनुपर्ने प्रतिक्रिया दिएका छन् । केपी ओलीलाई उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बनाउनुपर्ने सुझाव केही पाठकको छ । कांग्रेसका डा. नारायण खड्का, चन्द्र भण्डारी र एमालेका रविन्द्र अधिकारीलाई पनि मन्त्री बनाइनुपर्ने केहीले माग गरेका छन् । केहीले मिनेन्द्र रिजाल र सशांक कोइरालाको पनि नाम लिएका छन् ।
जनमतमा सहभागीहरुको प्रतिक्रियाअनुसार अधिकांशको रोजाइ गृहमन्त्रीमा वामदेव गौतम र प्रकाशमान सिंह रहेको छ भने उर्जा मन्त्रालयमा धेरैले एमाले नेता गोकर्ण विष्टलाई रोजेका छन् ।
उर्जामा गोकर्ण विष्ट नै रोजाइमा
देशमा जारी १२ घण्टा लामो लोडसेडिङबाट आजित भएका नागरिकले एमाले नेता गोकर्ण विष्टलाई उर्जा मन्त्रीको रुपमा हेर्न चाहेका छन् । एमाले अध्यक्ष झलनाथ खनालको पालामा छोटो समय उर्जा मन्त्री भएका विष्टले देशमा जारी लोडसेडिङ घटाउन खेलेको भूमिकालाई सम्झादै नागरिकले उनैलाई उर्जा मन्त्रीका रुपमा रोजेका हुन् ।
युवा तथा खेलकुद र भौतिक निर्माणमा गगन
कांग्रेसका युवा नेता गगन थापा काठमाडौं ४ बाट भारी मतले विजयी भएपछि कांग्रेसबाट मन्त्री हुने लाइनमा रहेको बताइन्छ । युवाहरुमाझ प्रिय थापा मन्त्री भएर जनतासामू परिक्षण भइसकेका छैनन् । यो पटकको सरकारमा उनलाई नागरिकले युवा तथा खेलकुद मन्त्री भएको देख्न चाहेका छन् । त्यसैगरी देशको विकास निर्माणलाई गति दिन गगनलाई भौतिक योजना तथा निर्माण मन्त्रीका रुपमा पनि नागरिकले हेर्न चाहेका छन् ।
पहिले पटक-पटक मन्त्री बनिरहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला सुजाता कोइराला लगायतको नाम भने सहभागीहरुले खासै लिएका छैनन् । जनतममा सहभागी गोर्खा नामका व्यक्तिले नयाँ र स्वच्छलाई प्राथमिकता दिनुपर्ने तर्क गर्दै भनेका छन्- ‘प्रधानमन्त्री नयाँ अनुहारको भएपछि अरु सबै मन्त्री पनि नयाँ अनुहारलाई दिनुपर्छ । सधैं एउटैलाई मन्त्री पोस्न हुँदैन ।’
अर्का सहभागी नारायण भण्डारी चरम निराशा प्रकट गर्दै लेख्छन्- जुन जोगी आए पनि कानै चिरेका भनेझै काम लाग्ने कोही पनि छैनन्, कस्लाई छान्नु र रु सबै दलीय भागबन्डा गरेर कमाउने खेती मात्र लगाउन खोज्छन् । देश र जनताको कसलाई छ र यहाँ चिन्ता रु जसले जे पाउँछ, जति पाउँछ बाडेर खाए । सम्पूर्ण भए भैगयो । यहाँ कसैले केही गर्ने वाला छैन र गर्ला कि भन्नु पनि हाम्रो भ्रम मात्र हो ।(अनलाइनखबर डटकम)

Post a Comment