२२ माघ, काठमाडौं । माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको दोश्रो संस्करण हुने भएको छ । नेपाल तेक्वान्दो संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर दोश्रो संस्करण बैशाख २० देखि २२ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो ।
पहिलो संस्करण २०६८ साल असोज ५ देखि ७ गतेसम्म त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको थियो । त्यसमा नेपाल ६ स्वर्ण र ८ रजतसहित टिम च्याम्पियन समेत बनेको थियो ।
दोश्रो संस्करणका खेलहरु पनि कभर्डहल मै हुनेछन् । यो संस्करणलाई एसियाली तेक्वान्दो महासंघले औपरिक मान्यता प्रदान गरेको महासचिव दिपक विष्टले जानकारी दिए ।
प्रतियोगितामा १५ भन्दा बढी राष्ट्र २ सय २५ खेलाडीको सहभागिता रहने आयोजकको अनुमान छ । पुरुषमा ८ र महिलामा ६ गरी जम्मा १४ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५४ केजीमुनि, ५० केजीमुनि, ६३ केजीमुनि, ६८ केजीमुनि, ७४ केजीमुनि, ८० केजीमुनि, ८७ केजीमुनि र ८७ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा ४६ केजीमुनि, ४९ केजीमुनि, ५३ केजीमुनि, ५७ केजीमुनि, ६२ केजीमुनि र ६७ केजीमुनिखेल हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड ४१ लाख रुपैयाँ खर्च हुने बताइएको छ । राखेपले ३० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।(अनलाइनखबर डटकम)

Post a Comment