२६ माघ, इलाम । इलामको माईखोला नजिकै गिट्टी, बालुवा सङ्कलन गरी बिक्री गर्ने एक मजदुरको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
शान्तिनगर-१ घर भई विगत लामो समयदेखि मजदुरी गर्दै आएका २२ वर्षीय सुमन राईको हत्यामा संलग्न इलामको महमाई-३ का २२ वर्षीय विच्छी भनिने फूलकुमार धमलालाई पक्राउ गरी प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो ।
माघ १ गते इलामको नामसालिङ र गोदक गाविसको बीचमा पर्ने माईबेनी मेलामा अत्यधिक मादक पदार्थ सेवन गरी घर र्फकंदै गरेका सुमन राई र फूलकुमारबीच सामान्य कुरामा विवाद भएको थियो । उनीहरूबीच प्रेमिकाको कुरालाई लिएर विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले भने- “प्रेमिकाको विषयमा दुईजनाबीच झगडा हुँदा सुमनको ज्यान गएको आशङ्का गरेका छौँ ।” फूलकुमारले मृतक राईलाई अनुहार र टाउकोमा ढुङ्गाले हिर्काएर हत्या गरेको स्वीकारेका छन् ।
साथीको हत्यापछि फूलकुमार भागेर महमाई पुगेका थिए । प्रहरीले खोजी गरिरहेको छ भन्ने थाहा पाएपछि उनी भागेर पाँचथरको वलने-६ स्थित नातेदारकामा लुकेर बसेका थिए ।
फूलकुमारलाई पक्रन प्रहरी सहायक निरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो । पाँचथरमा लुकेर बसेका फूलकुमारलाई माघ २४ गते राति १ बजे प्रहरीले उनी सुतेकै स्थानबाट पक्डेको थियो । उनीविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । रासस
Post a Comment