मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

मोबाइल : अल इन वन

काठमाडौ, माघ १८ - संविधानसभाको चुनाव सकिएको केही साता बितेको छ । त्यही चुनावमा केही सभासदलाई चुनाव जित्न मोबाइल फोनले सघाएको चर्चा भने सेलाएको छैन ।
सभासद गगन थापालाई भेटौं । उनले चुनाव प्रचारका क्रममा हरेक मतदातालाई १० पटकसम्म भेटे । पूरै क्षेत्रका मतदातासमक्ष पुग्नुपर्ने उनलाई एकै जनासँग १० पटक भेट्न सम्भव थियो त ? ' मोबाइल ले त्यस्तो सम्भव गरायो,' उनले भने, 'चुनाव प्रचारका क्रममा घरदैलो गर्दा मतदातासँग मोबाइल नम्बर पनि माग्यौं । त्यसपछि एसएमएसको माध्यमबाट उहाँहरूसँग १० पटकसम्म भेट गर्‍यौं ।'
केही नेताले आफ्नो क्षेत्रका सबै मतदाताको मोबाइल नम्बर फेला पारेका थिए । पूर्वप्रधानमन्त्री माधव नेपालले आफ्नो क्षेत्रका हरेक मतदाताको मोबाइल मा एसएमएस पठाएर मत मागेका थिए । त्यसरी आफ्नो नामै तोकेर मोबाइल मा एसएमएस पाउँदा धेरै जना दंग परेका थिए । 'त्यसरी हरेक मतदाताको नम्बर निर्वाचन आयोगले दियो कि टेलिकम कम्पनीले ?' उनले भने, 'हामीले प्रयास गरेर पनि पाएनौं । त्यसैले आफ्नै प्रयासले मोबाइल नम्बर संकलन गर्‍यौं ।' नम्बर जो सुकैले देओस् । त्यसरी दिनु हुन्थ्यो/हुँदैनथ्यो, त्यसबारे छुट्टै बहस होला । आफूले प्रयास गर्दा नम्बर नपाएपछि थापा आफैंले सम्बन्धित ब्यक्तिसँग नम्बर मागेर सम्पर्क गरिरहे । उनलाई निर्वाचनको प्रचारमा मोबाइल ले निकै सजिलो बनाइ दिएको अनुभूति भएको छ ।
अर्का युवा सभासद रविन्द्र अधिकारीले मोबाइल लाई चुनावमा अझ बढी उपयोग गरे । उनले आफ्नो क्षेत्रका ५/६ हजार मतदाताको मोबाइल नम्बर सेभ गरेका छन् । उनी चुनाव प्रचारका क्रममा हुने पट्यारलाग्दा सभाहरूमा मञ्चमा बसिरहँदा मोबाइल बाटै आफ्ना चुनावी गतिविधि सामाजिक संजाल (फेसबुक, ट्वीटरलगायत) मा अपडेट गरिरहन्थे । आफूसँग भएको आइफोनबाट फोटो खिचेर अपलाटग गर्थे । अन्यत्रका खबरमा अपडेट भइरहन्थे । प्रचारका क्रममा चिठ्ठीपत्र आदानप्रदान त्यसैबाट गर्थे । 'सामाजिक संजालमा आउने कमेन्टले निकै उर्जा दिन्थ्यो,' कास्कीबाट चुनाव जितेका उनले सुनाए, 'सामाजिक संजालमा आवद्ध हुने धेरैले मलाई भोट दिएको मोबाइल कै प्रचारले हो जस्तो लाग्छ ।'
रुकुमबाट निर्वाचित अर्का युवा सभासद गणेशमान पुनलाई भने पूर्वाधारको अभावमा मोबाइल ले त्यति साथ दिएन । शहरमा मोबाइल बाटै चुनाव प्रचार भइरहेको थाहा पाएका उनले २०/२५ हजार एसएमएसको प्याकेज किनेर लगेका थिए । गाउमा मोबाइल ले काम नगरेकाले उनले त्यसलाई त्यति उपयोग गर्न सकेनन् । 'शहरमा धेरैले मोबाइल बाटै प्रचार गरेकैले होला त्यस्ता ठाउँमा माओवादीले हार ब्यहोर्नु पर्‍यो,' उनले माओवादी पराजयको एउटा कारण मोबाइल प्रविधिलाई दोषारोपण गर्न भ्याए, 'प्रविधिको प्रयोगमा पछि परेर हामी हार्‍यौं ।'  
यी तिन युवा सभासदको अनुभवले मोबाइल को शक्तिलाई प्रतिनिधित्व गर्छ । भर्खरै सकिएको क्यान इन्फोटेककै अवसरमा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले गरेको आइटि सम्मेलनको थिमसमेत मोबाइल मै केन्द्रीत गरेको थियो । ' मोबाइल टेक्नोलोजी फर स्मार्ट सोसाइटी' थिममा भएको सम्मेलनमा सहभागी हुन आएका भारतका मोबाइल प्रविधिविज्ञ डा. मनमोहन रावले मोबाइल को पावरको ब्याख्या गर्दै भने, 'अवेरनेस, इन्फ्लुएन्स, एडभोकेसी, अथोरिटी, भेलोसिटी, जेनेरोसिटी, रिचनेस मोबाइल बाटै सम्भव छ ।'
उनले भनेजस्तै भएको छ नेपालमा पनि । मोबाइल अब कुरा गर्ने भाँडो मात्र रहेन । जिपिआरएस/थि्रजी सेवा लिएर इन्टरनेटमार्फत गर्न सकिने काम छँदैछ । स्र्माटफोन अपरेटिङ सिस्टम (ओएस) अनुसार लाखौं एप्लिकेसन्स (एप्स) डाउनलोड गरेर हरेक काम गर्न सकिने क्यानका पूर्वअध्यक्ष विप्लवमान सिंह बताउँछन् । 'साना डिभाइसप्रति सर्वसाधारण आकषिर्त भएका छन्,' उनी भन्छन् । माइक्रो हुँदै नानो डिभाइसले सबैलाई सुविधा दिन थालेको छ ।' पछिल्लो एम ( मोबाइल )- कमर्स, एम-हेल्थ, एम-गभर्नेन्सको अवधारणा आएको छ ।
नेपालमा मोबाइल मा एसएमएसबाटै धेरै सुविधा दिन सकिने प्रविधिसमेत लाकपि्रय हुँदै गएको छ । स्प्यारो एसएमएस सेवा प्रदान गर्दै आएको जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवाल सगरमाथाको बेसक्याम्पसम्म पुगेको मोबाइल कभरेजको प्रयोग गरेर सामान्यदेखि सरकारी सेवासमेत उपलब्ध गराउन सकिने बताउँछन् । स्प्यारो एसएमएसले एसएलसी/उच्च माध्यमिक शिक्षा परिषदलगायतले सार्वजनिक गर्ने रिजल्टदेखि विभिन्न कम्पनीलाई सूचना आदानप्रदान गर्ने भ्यालु एडेड सर्भिस (भास) उपलब्ध गराउँदै आएको छ । 'हाम्राे जस्तो कृषि प्रधान मुलुकमा कृषकलाई खेतीबारे जानकारी दिन मोबाइल लाई उपयोग गर्न सकिन्छ,' उनले भने । स्प्यारोले श्रम मन्त्रालयमा एसएमएसबाट पासपोर्ट ट्रयाकिङ गर्ने प्रणाली सुरु गरिसकेको छ । एम गभर्नेन्समा भने सरकारले अझै धेरै गर्न बाँकी छ ।
एम-कमर्समा भने धेरै काम भएको छ । मुलुकका तीन दर्जनभन्दा बढी बैंकले एम-बैंकिङ सुरु गरिसकेका छन् । फोनपे र हेल्लो पैसा प्लेटर्फमले मोबाइल बाटै पैसाको कारोबार गर्ने सेवा उपलब्ध गराइरहेका छन् । यी प्लेटर्फमको प्रयोग गरेर एउटा खाताको रकम अर्कोमा सार्ने, एक जनाले अर्कोलाई पैसा पठाउने गर्न सकिन्छ । यी दुईसहित नेपालको पेमेन्ट गेटवे इसेवाको प्रयोग गरेर मोबाइल एसएमएसबाटै बजारमा किनमेल गर्न, रिजार्च कार्ड किन्न, प्लेन/बसको टिकट किन्न सकिन्छ ।
हेल्थ एट होमले एम हेल्थ सेवा सुरु गरेको छ । बरिष्ठ नागरिकहरूलाई मोबाइल बाटै स्वास्थ्य सेवा दिइरहेको कम्पनीका प्रमुख विशाल ढकाल बताउँछन् ।
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले टेलिकममा थुपि्रएको केही अर्ब रुपैयाँ लगानी गरेर गाउँगाउँमा सिडिएमए नेटर्वक पुर्‍याउने प्रयास गर्दा निकै बिरोध खेप्नु परेको थियो । 'दुई छाक खान नपुग्नेहरूको बस्तीमा मोबाइल को के उपयोगिता हुन्छ भनेर धेरैले विरोध गरेका थिए,' उनले सम्झिए'अहिले त्यहि प्रविधिले गाउँका बासिन्दलाई आय आर्जनको स्रोत भएको छ ।'
दुरसंचार प्राधिकरणले भर्खरै सार्वजनिक गरेको तथ्यांक अनुसार मोबाइल बाट इन्टरनेट (डाटा सेवा) प्रयोग गर्नेको संख्या एक महिनामै दुई लाखभन्दा बढीले थपिएका छन् । अहिले इन्टरनेट प्रयोगकर्ताको संख्या ७६ लाख ६४ हजार पुगेको छ । मुलुकमा मोबाइल प्रयोगकर्ताको संख्या १ कारोड ९६ लाख ९५ हजार ६ सय २७ पुगेको छ । टेलिडेन्सिटी ८४ प्रतिशत छ । त्यसमा मोबाइल पेनिट्रेसन ७४.३३ प्रतिशत छ ।
बढ्दो मोबाइल को प्रयोग र यसको बहुउपयोगिताले मोबाइल टेक्नोलोजीले सोसाइटीलाई स्मार्ट बनाउन सक्ने देखिन्छ । त्यसका लागि सरकारले आइटीलाई प्राथमिकतामा राख्नु आवश्यक छ । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी सरकार आइटी रोडम्याप बनाउने तयारीमा लागेकाले त्यो तयार भएपछि आगामी दिनमा मोबाइल को प्रयोगले सरकारी कामकाज सजिलै गर्न सकिने बताउँछन् ।
मोबाइल प्रविधिले पत्याउनै नसक्ने गरी फड्को मारेको छ । मोबाइल सुरु हुँदा उठाएको समेत पैसा तिर्नुपर्ने अवस्थाबाट ग्राहकले उठाउँदा पैसा पाउने (क्यास अन एड) अवस्थासम्म आएको छ । यसको उपयोग सरकारी सेवामा समेत प्रयोग गरेर सेवाग्राहीलाई सुविधा दिनु आवश्यक छ । (इकान्तिपुर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang