मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

हातखुट्टा झमझमाउनु पनि कुष्ठको लक्षण

काठमाडौ, माघ १८ - एक व्यक्ति हातखुट्टा झमझमाउने समस्याले पीडित थिए । तिनले नेपालकै एउटा मेडिकल कलेजमा झन्डै एक वर्ष उपचार गराए । डेढ लाखजति खर्च भयो, तर रोग निको भएन । स्नायु रोग विशेषज्ञले विभिन्न उपचार गरे पनि तिनको मूल रोग चिनिएन । पछि तिनी सामान्य हेल्थ असिस्टेन्टको सल्लाहमा कुष्ठरोगको क्लिनिकमा गए, अनि पो आफूलाई कुष्ठरोग देखिएको पत्तो पाए । ती व्यक्ति बहुऔषधि उपचारपछि हाल स्वस्थ छन् ।
'हातगोडा झमझमाउने समस्या लिएर नसा रोग विशेषज्ञहरूकहाँ पुग्नुको साटो कुष्ठरोगकै आशंका गरी बेलैमा उपचार थालेको भए न पैसाको बर्बादी हुन्थ्यो, न समयको,' ती व्यक्ति भन्छन् ।
विज्ञहरूका अनुसार, जीउमा रातो/फुस्रो, छुँदा थाहा नहुने दाग देखिनु, हातगोडाका स्नायु मोटा देखिनु मात्रै कुष्ठरोगका लक्ष्ण होइनन् । हातगोडा झमझमाउनु पनि कुष्ठको लक्षण हुन सक्ने भएकाले समयमै सही चिकित्सकको सल्लाह लिनुपर्छ । कुष्ठ कम सर्ने सरुवा रोग हो र यसमा मुख्य रूपले छाला र स्नायु प्रभावित हुन्छ । माइक्रो ब्याक्टेरियम लेप्रे नामक कीटाणुबाट हुने कुष्ठका लक्षण वा दागहरू पूर्णरूपमा देखिन वर्षौं पनि लाग्न सक्छ ।
विश्व वास्थ्य संगठन -डब्लूएचओ) को तथ्यपत्रअनुसार, कुष्ठरोगको लक्षण देखिन पाँच वर्षदेखि २० वर्षसम्म लाग्न सक्छ । नेपालमा कुष्ठरोगको लक्षणअन्तर्गत रातो/फुस्रो, छुँदा थाहा नहुने दाग, अनुहारको छाला र कानको लोती बाक्लो हुनु, गिर्खादेखिनुलाई सर्वाधिक महत्त्व दिने गरिन्छ । विशेषज्ञहरूसमेत यस्तैखाले लक्षण देखिँदा बढी संवेदनशील हुने गर्छन् ।
त्यसैले, हातखुट्टाको नसा झमझमाउन थाल्दा सबैजसो व्यक्ति सामान्यतः स्नायु रोग विशेषज्ञकहाँ नै जाने गर्छन् । त्यस्ता ठाउँमा कुष्ठभन्दा पनि अन्य समस्यामा बढी केन्दि्रत रहेर परीक्षण गरिने परिपाटी भएकाले खास रोग पहिचानमा विलम्ब हुने गरेको कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चूडामणि भण्डारी बताउँछन् ।
'नसा दुख्ने र झमझमाउने समस्या लिएर स्नायु रोग विशेषज्ञकहाँ जानेहरूलाई अन्य कुनै स्नायु समस्या छ कि भनेर विशेषज्ञले बढी ध्यान दिने गरेको देखिएको छ,' भण्डारी भन्छन्, 'जब बिरामीको नसामा क्षति पुग्न थाल्छ अनि मात्र कुष्ठरोग लागेको हो कि भनेर शंका गर्ने गरिन्छ । समय त्यसैमा बित्ने गरेको छ ।'
त्रिवि शिक्षण अस्पतालका स्नायु रोग विशेषज्ञ डा. जगदीशप्रसाद अग्रवाल भन्छन्, 'धेरैजसो रोगमा हातखुट्टाको नसा झमझम गर्ने समस्या देखिन्छ । यसैले पनि हातखुट्टाको झमझमाइ कुष्ठको पनि लक्षण हुन सक्छ भन्ने तथ्यलाई बिरामीको परीक्षण गर्दा बिर्सनु हुन्न ।' कुष्ठरोगले गर्दा नसाको समस्या देखिएकाहरूमा प्रारम्भिक अवस्थामा सामान्यतः यो रोग भएको थाहा पाउन निकै गार्‍हो हुने गरेको जनाउँदै उनी थप्छन्, 'यसैले नसा परीक्षण गर्दा अलि बाक्लो देखिए छाला रोग विशेषज्ञकहाँ रिफर गर्नुपर्छ । अनि त्यहाँ छालाको बायोप्सी गरेर कुष्ठ भए/नभएको किटान हुन सक्छ । यसो गरे समयको बचत हुन्छ ।'
कुष्ठको जीवाणुले छाला र नसामा असर पार्ने गर्छ । घाउ नदुख्ने हुँदा बिरामीले रोगको वास्ता गर्दैनन् र समयमै उपचार हुन नसक्दा हातखुट्टाका औंलाहरू, नाक र कानमा घाउ भएर अपांगता निम्तिने मात्र नभई कुरूप समेत होइने धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् ।
कुष्ठरोग उपचार नगराएका रोगीहरूको सास र मुखबाट निस्किने पानीका स-साना थोपाका माध्यमले नियमित र नजिकको सम्पर्कमा रहेन स्वस्थ व्यक्तिमा सर्ने गर्छ । कुष्ठरोगमा शरीरको अंगहरू अलग्गिएर झर्दैनन् । यो रोगले ती अंगलाई लाटो तथा रोगी बनाउने उल्लेख गर्दै डा. कर्ण भन्छन्, 'लाटो अंग कतै ठोक्किँदा वा काटिँदा बनेको घाउ बिग्रेर नै हातखुट्टा गुम्ने हुन्छ ।' हाल मुलुकमा नयाँ कुष्ठरोगीहरूमध्ये करिब तीन प्रतिशतमा यस्तै खाले अपांगता पाइने गरेको सरकारी तथ्यांकमा उल्लेख छ ।
अमेरिकास्थित नेसनल इन्स्िटच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज -एनआईएआईडी) का अनुसार, पासी ब्यासिलरी अर्थात्  टयुबरकुलाइड कुष्ठरोगअन्तर्गत छालामा 'हाइपोपिग्मेन्टसन' एउटा वा बढी दागद्वारा चिनिन्छ । ती ठाउँमा छालाको संवेदना समाप्त हुन्छ । त्यहाँको स्नायु क्षतिग्रस्त भएर छाला लाटो हुन्छ ।  
यस्तै, मल्टिब्यासिलरी अर्थात् बोर्डरलाइन कुष्ठरोगको फैलावट मध्यम हुन्छ । यो सबैभन्दा सामान्य रूप हो । यसमा छालामा दाग टयुबरकुलाइड कुष्ठरोगमा जस्तै देखिन्छ, तर त्यो धेरै बढी संख्यामा र अनियमित हुन्छ । ठूलो दागले पूरा अंगलाई प्रभावित गर्न सक्छ ।
मल्टिब्यासिलरीकै लेप्रोमेटस कुष्ठरोगमा छालामा संक्रमित घाउ, ग्रन्थी, प्लाक वा आन्तरिक छाला -डर्मिस) को मोटाइ बढ्ने, नाकको श्लेष्मको नियमित सहभागिता भई नाकमा रगत जम्ने, रगत निस्किनेजस्ता समस्या हुन सक्छन् ।
नेपालका कुल कुष्ठरोगीमध्ये ५२ प्रतिशतमा मल्टिब्यासिलरी अर्थात् बढी कीटाणु भएको कुष्ठरोग तथा ४८ प्रतिशतमा पासी ब्यासिलरी अर्थात् कम कीटाणु भएको कुष्ठरोग पाइएको छ । कुष्ठरोग महाशाखाका अनुसार, गत आर्थिक वर्षमा ३ हजार २ सय ५३ नयाँ कुष्ठरोगी देखिएका थिए भने यो आर्थिक वर्षको पछिल्लो चार महिनामा १ हजार १ सय ९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । नेपालका कुल कुष्ठरोगीमध्ये ४ प्रतिशत बालबालिका छन् । कुल कुष्ठरोगीमध्ये ३० प्रतिशत महिला र बाँकी पुरुष छन् । त्यस्तै, कुल कुष्ठरोगीमध्ये ८५ प्रतिशत झापा, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, कैलालीका छन् ।  
बढी सर्ने र कम सर्ने कुष्ठरोग क्रमशः एक वर्ष र ६ महिना औषधि खाए पूरै निको हुने उल्लेख गर्दै डा. कर्ण भन्छन्, 'रिपmयाम्पिसिन औषधिको एकै मात्राले रोगीको शरीरमा भएको ९९.९९ प्रतिशत रोगका कीटाणु मर्छ र रोग अन्य व्यक्तिमा सर्न पाउँदैन ।'
नेपालमा कुष्ठरोगको उपचार निःशुल्क हुने गरेको छ । स्वास्थ्य केन्द्रहरूमा औषधिसमेत निःशुल्क पाइन्छ । सरकारले उपचार पूरा गरेका कुष्ठरोगीलाई यातायात खर्चबापत् एक हजार रुपैयाँसमेत दिने गरेको छ । त्यसैले, कुष्ठरोगको उपचारमा अल्छी नमानौं ।
(इकान्तिपुर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang