मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Wednesday, February 5, 2014

पतिको हत्या गरी अर्कैसँग विवाह!

सुर्खेत- कतारबाट घर फर्किँदै गर्दा हत्या गरिएका जुम्लाका राजन बुढाको हत्यामा उनकै पत्नी संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बुढा २०६८ पुसमा कतार गएपछि पत्नी गीता पुलामी (बुढा) ले यहाँ अर्कैसँग विवाह गर्ने निधोमा पुगिसकेकाले हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।
 अर्कैसँग विवाह गर्ने निधो गरिसकेकी गीताले नयाँ पतिलाई पुरानो पतिले मार्न सक्ने भन्दै पहिले नै मार्ने योजना बनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए।
पतिको हत्या गरेपछि गीता पूर्व योजनाअनुसार अर्को बिहे गरेर भागेको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ। गीताले बिहे गरेर गएका व्यक्तिको नाम भने अनुसन्धानमा अवरोध हुनसक्ने भन्दै प्रहरीले सार्वजनिक गरेको छैन।  ती व्यक्तिको पनि घटनामा संलग्नता रहेकाले अहिले दुवै जना फरार रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। पति बुढालाई हत्याको योजना र पत्नीको यहाँको कुनै पनि क्रियाकलापबारे जानकारी नभएको र फोनमा कुराकानी गरी भेटेर जङ्गलमा लगि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए। 
 कतारबाट फर्किदै गरेका गीताका पति, हत्याका अभियुक्त गीता र गीताको नयाँ पति तीनै जना माओवादीका पूर्व लडाकु हुन्।
 मुख्य अभियुक्त गीता पक्राउ नपरे पनि घटनामा संलग्न अन्य चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। गढी–१ का ३३ वर्षका इन्द्रबहादुर रामजाली, वीरेन्द्रनगर–५ का ७० वर्षका देवीलाल न्यौपाने, जर्वुटा–२ का १७ वर्षीय अमृत भनिने पूर्णबहादुर सुनार र लेखगाउँ–४ की ३३ वर्षीया पविसरा पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो।

घटनाको मुख्य योजनाकार गीताले पतिको हत्या गर्न अनेक उपाय अपनाएको समेत प्रहरीले जनाएको छ। त्यसै क्रममा ७० वर्षीय न्यौपानेको घटनामा मुख्य भूमिका रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। न्यौपानेले बुढालाई जादु टुनामुना गरी बाटोमै मार्ने जिम्मा लिने र त्यसको लागि आफूलाई रु एक लाख दिनुपर्ने भनी तीस हजार रकम बैनासमेत लिइसकेको प्रहरी उपरीक्षक अधिकारीले बताए। 

 “न्यौपानेको घटनामा ठूलो हात रहेछ,” – उनले भने, “बुढालाई मार्ने भनी एक लाखको सम्झौता गरेको पहिले नै तीन हजार लगिसकेको भेटियो, तीस हजार हामीले बरामद पनि गरिसक्यौ।”

अभियुक्त न्यौपाने यहाँको वीरेन्द्रनगर–५ को कालिका मन्दिरका पुजारी हुन्। यस्तै, पक्राउ परेका रामजाली र सुनारको पनि हत्यामा प्रत्यक्ष संलग्नता रहेको र अर्की पविसराले घटनाका योजना थाहा पाए पनि खबर नगरेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ। पविसरा मृतककी दिदी सासु हुन्। उनका पति पनि मृतक बुढाले काम गरेकै कम्पनीमा काम गर्ने र केही समयमा फर्किन लागेकाले बहिनीले बनाएको सबै योजना उनलाई थाहा भएको प्रहरीको दाबी छ।

बुढाको यही माघ ६ गते हत्या गरिएको भएपनि १५ गते मात्रै शव फेला परेको थियो। घाँस काट्न गएका महिलाले जर्वुटा–१ मा पर्ने शिव सामुदायिक वनमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शवको साथमा एउटा झोला भेटिएको र त्यसमा कतार अन्तर्राष्ट्रिय विमानस्थलको गेट पास र दुई वर्ष अगाडि मेडिकल जाँच गरेको रसिद मात्रै भेटिएको थियो। अनुसन्धानबाट बुढा यही माघको ४ गते नै कतारबाट काठमाडौँ आइसकेको र त्यहाँबाट ६ गते सुर्खेत आइपुगेपछि बाटा मै भेटेर हत्या गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए।(नागरिक न्युज डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang