मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Thursday, February 6, 2014

'एभरेस्ट' खेल्दै विजय लामा

काठमाडौं-विमान चालक विजय लामाको फेसबुकमा सोमबारदेखि हिउँ नै हिउँका फोटोहरु छाएका छन्। हेर्दा नेपालकै लाग्ने ती फोटोहरु इटालीका हुन्। उनी अहिले इटालीको दुर्गम पर्वतीय क्षेत्रमा पुगेका छन्। विमान उडाउन होइन फिल्म खेल्न।


दुई हप्ताअघि नेपालमा सुटिङ हुनेबित्तिकै एक किसिमको चर्चा बटुलिरहेको फिल्म 'एभरेस्ट'मा विजयले अभिनय गरिरहेका छन्। यही फिल्मको सुटिङ अहिले इटालीमा हुन लाग्दैछ। हलिउड बक्सअफिसमा तहल्का मच्चाउन सफल सन् २०१३ को फिल्म 'टु गन्स'का आइरिस निर्देशक बल्तासर कोर्माकरले निर्देशन गरिरहेको 'एभरेस्ट'को ४४ सदस्यीय टोली नेपालको काम सिध्याएर इटाली पुगेको हो।

जोन क्राकोरको उपन्यास 'इन्टु दि थिन एयर'मा आधारित यस फिल्ममा जेक जेलनहेल, जोश ब्रोलिन, जेसन क्लार्क आदिको मुख्य भूमिका छ। विजयलाई पाइलट कर्नेल मदन केसीको भूमिका दिइएको छ। विदेशी आरोहीहरुलाई उद्धार गर्न जाने हेलिकप्टर चालक मदनका रुपमा विजय देखिनेछन्। विजयका केही दृश्यको सुटिङ काठमाडौंमा भइसकेको छ।

विजयले हेलिकप्टर उडाएका दृश्यहरु इटालीमा खिचिन लागेको हो। नेपालका हिमाली क्षेत्रमा सुटिङ गर्न प्राविधिक रुपमा जटिल रहेकाले इटाली रोजिएको अनुमान उनको छ। इटालीको डोलोमाइट्स पर्वत क्षेत्रमा फिल्मको सुटिङ गरिनेछ।

'एभरेस्ट'का निर्देशक बल्तासरसँग विजयलाई अस्ट्रेलियाकी क्यारोलिन स्याङ्बोले भेट गराइदिएकी हुन्। 'चार महिनाअघि काठमाडौंमा बल्तासरसँग भेटघाट भएको थियो, त्यतिबेला हल्का कुराकानी चलेको हो, तर टुंगो लागिसकेको थिएन,' विजयले भने, 'सुटिङका लागि पूरा टोली नेपाल आउन केही हप्ता बाँकी छँदा मेरो लुगा र जुत्ताको साइज मगाइयो, त्यसपछि म ढुक्क भएको थिएँ।'

विजयले यसअघि 'लिटिल बुद्ध' र एक स्पेनिस फिल्मका लागि अडिसन दिएका थिए। तर, छानिएका थिएनन्। 'एभरेस्ट'मा चाहिँ उनले अडिसन नै दिन परेन। विश्व बस्नेतको नयाँ फिल्म 'स्कुल' र रञ्जीत आचार्यको टिभी कार्यक्रम 'ब्ल्याक एन्ड ह्वाइट'का फुटेजकै भरमा उनी छानिए।

'एभरेस्ट'लाई आफ्नो कलाकारिताको नयाँ सुरुवात ठान्छन् विजय। 'यो फिल्मले गर्दा एउटा नेपाली कलाकारको काम संसारभर हेरिने भएको छ, फिल्म रिलिज भएपछि अरु ढोकाहरु पनि उघारिने सम्भावना देख्छु,' विजय आशावादी छन्।

फिल्म, टेलिसिरियल, विज्ञापन र म्युजिक भिडियो गरी विजयले दर्जनौंपटक क्यामेराको सामना गरिसकेका छन्। तैपनि उनलाई 'एभरेस्ट'को सुटिङमा पहिलोपटक सहभागी हुँदा आफू शुन्यमै छुजस्तो लाग्यो। 'आफूलाई खुब जानेको छु भन्ने सोच्थेँ, तर मैले अभिनयमा सिक्न धेरै बाँकी रहेछ,' उनी इमानदार बने।

'एभरेस्ट'को सुटिङमा उनले एउटा नयाँ कुरा पनि महसुस गरेका छन्, जुन नेपाली फिल्मकर्मीका लागि उपयोगी हुनसक्छ। 'जो जुन विषयमा आवद्ध छन्, उनीहरुले त्यसबाहेक अरु विषयमा नबोल्दा रहेछन्,' विजयले तुलना गरे, 'नेपाली फिल्ममा चाहिँ जो भेटे पनि आफू सबै विषयमा पोख्त छु भन्ने देखाउन खोज्छन्।'

'मिनिमाइज्ड मुभमेन्ट' र 'सफ्ट एक्सप्रेसन'मा अभिनय गर्न लगाउने निर्देशक बल्तासरको शैलीदेखि उनी प्रभावित छन्। उनले यो शैली विश्व बस्नेतसँग 'स्कुल'मा काम गर्दा पनि अलिअलि आभास गरेका थिए। नेपाली फिल्मकर्मी पनि कम प्रतिभाशाली नभएको उनी दावी गर्छन्।

तीन हप्तापछि नेपाल फर्कने विजय 'एभरेस्ट'कै सुटिङका लागि फागुनतिर बेलायत पुग्नेछन्। व्यस्त भए पनि फिल्म वा अरु क्रियाकलापका लागि आफू उपलब्ध हुने उनी बताउँछन्। नेपाली फिल्मकर्मीसँग उनको आग्रह छ, 'विजय लामाले समय मिलाउन सक्दैन भन्ने भ्रम नपाल्नुस्।'(नागरिक न्युज डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang