काठमाडौं, २२ माघ- सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले ग्राहकको चाहना अनुसारका सेवा, सुविधा र गुणस्तरमा ध्यान दिनसके मात्रै नेपाल टेलिकम प्रतिस्पर्धी बजारमा टिकिरहन सक्ने बताएका छन् । कम्पनीको १०औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री पौडेलले दक्षिण एसियामै नमुना दूरसञ्चार कम्पनी बनाउन सकिने सम्भावना टेलिकममा भएको बताए । कम्पनीको व्यवस्थापन र संगठित सुशासन सुधार गर्न उनले सुझाव दिएका छन् ।
सरकारलाई राजस्व तिर्ने ठूलो कम्पनी भएकाले समग्र अर्थतन्त्रलाई सफलता वा असफलता डो¥याउन पनि टेलिकमको भूमिका महत्वपूर्ण हुने उनको अनुभव छ । “प्रतिस्पर्धी बजारमा टिकिरहन पछिल्ला प्रविधि भिœयाउनु आवश्यक छ, त्यसकै लागि कम्पनीमा रणनीतिक साझेदार ल्याउन लागिएको हो ।” यसै आर्थिक वर्षभित्र रणनीतिक साझेदारीको विषय ठोस निर्णयमा पुग्ने उनको भनाइ छ । साझेदार भिœयाउन सके टेलिकममा राज्य र राजनीतिक हस्तक्षेप कम हुने र प्रतिस्पर्धी क्षमता बढाउन सहज हुने उनको विश्वास छ ।
सरकारका मुख्य सचिव लीलामणि पौडेलले टेलिकम राष्ट्रको गौरव भएको बताउँदै प्रतिस्पर्धामा यसरी नै गौरव बनाइ राख्ने १ मात्र विकल्प ग्राहकको सन्तुष्टि भएको जिकिर गरे । उनले अहिलेको युग छनोट, सुविधा, र सेवाको गुणस्तर तथा नयाँ प्रविधिमा अडिएकाले यसप्रति कम्पनीले ध्यान दिन निर्देशन दिए । सार्वजनिक खरिद ऐनले काममा बाधा सिर्जना गरेको बताउँदै उनले बुँदागत रूपमा परिमार्जनका लागि आएमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा टेलिकम सञ्चालक समितिका अध्यक्ष धु्रवप्रसाद शर्माले अनावश्यक दरबन्दी हटाउने प्रयास गरेको बताउँदै यसै वर्ष करिब ८ सय दरबन्दी खारेज गरिएको जानकारी दिए । कम्पनीमा अहिले ५ हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले प्रतिस्पर्धी क्षमता नबढाए भोलिका दिन कम्पनीका लागि सहज नहुने बताए । कम्पनीमा सुशासन कायम गर्न कर्मचारीलाई आग्रह गर्दै कार्कीले तलमाथि गर्ने र सेवाको नाममा विकृति बढाउन खोज्ने जुनसुकै कम्पनीलाई कारबाहीको दायरामा ल्याउने पनि बताए ।
वार्षिक उत्सवमा ३ महिनासम्म छुट
टेलिकमले जीएसएम तथा सीडीएमए सेवाका ग्राहकहरूलाई ३ महिनासम्म छुट उपलब्ध गराएको छ । जीएसएम तथा सीडीएमएका पोस्टपेड ग्राहकलाई मासिक ५० एमबी डेटा निःशुल्क दिने, सीडीएमए प्रिपेड ग्राहकका लागि राति १० देखि बिहान ६ बजेसम्म २० रुपैयाँमा अनलिमिटेड कल गर्न सकिने सुविधा ल्याएको छ । कम्पनीका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बुधबारदेखि ३ महिनासम्म लागू हुने गरी जीएसएम र सीडीएमए सेवाको पोस्टपेड मोबाइल ग्राहकहरूलाई छुट योजना ल्याएको घोषणा गरेका हुन् ।
फ्रेन्ड्स एन्ड फेमिली (एफएनएफ) सेवाअन्तर्गत सीडीएमएका पोस्टपेड ग्राहकलाई ५५ पैसा प्रतिमिनेट र प्रिपेड ग्राहकलाई ७५ पैसा प्रतिमिनेटमा कल सुविधा उपलब्ध गराइएको छ । त्यस्तै ईभीडीयो सेवाको २ जीबी, ५ जीबी र १० जीबी डाटा प्याकेजको अवधि १ महिनाबाट बढाएर २ महिना हुने भएको छ । २५ एमबी तथा ३०० एमबी डाटा प्याकेज क्रमशः २ दिन र १५ दिनको समयावधि कायम गरी उपलब्ध गराउने भएको छ । जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल सेवा लिँदा लाग्ने शुल्क २ हजार १ सय ३० रुपैयाँबाट घटाएर १ हजार ४ सय ३० कायम गरिएको छ ।
कम्पनीले महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई विशेष प्याकेजअन्तर्गत वितरण गरिएको सिम तथा रिमबाट कम्पनीकै नेटवर्कभित्र हुने प्रत्येक १० मिनेट कलमा १ रुपैयाँको दरले ३ महिनासम्म बोनस वितरण गर्ने जनाएको छ । बोल्न र सुन्न नसक्नेका लागि सय रुपैयाँमा सय रुपैयाँबराबरको टक भेलु रहने गरी सिम तथा रिम उपलब्ध गराउने र कम्पनीकै नेटवर्कमा एसएमएस गर्दा ३ महिनासम्म प्रति एसएमएस २० पैसा कायम गरिएको छ ।
उनले जीएसएम प्रणालीको स्तरोन्नतिपश्चात् डाटा बजारतर्फ करिब ६० प्रतिशत ग्राहक वृद्धि भएको जानकारी दिए । कम्पनीका स्थापनाकालमा रहेको ग्राहक संख्या ४ लाख २२ हजारबाट पुस मसान्तसम्म करिब २३ गुणाले वृद्धि भई ९९ लाख १७ हजार पुगेको टेलिकमले जनाएको छ ।(कारोबार डेली)

Post a Comment