मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Tuesday, February 4, 2014

संसदीय दलको नेतामा खनाल र ओलीको उम्मेदवारी दर्ता

काठमाडौ, माघ २१ - एमाले संसदीय दलको नेताको बिषयमा विवाद मिलाउन शिर्ष नेताहरुबीच भएको अन्तिम प्रयासमा पनि कुरा नमिलेपछि नेताहरु चुनावी प्रक्रियाका सहभागी भएका छन् । मनोनयन दर्ताको समय सकिन १० मिनेट बाँकी रहँदा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीले संसदीय दलको नेता पदका लागि मनोनयन दर्ता गराएका छन् । 
सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा चुनावी प्रक्रिया जारी छ  । खनालको प्रस्तावक माधव नेपाल र समर्थक अष्टलक्षमी शाक्य तथा ओलीको प्रस्ताव वामदेव गौतम र समर्थक विष्णु पौडेल छन् । खनाल र ओली पक्षले सांसदहरुसँग भोट मागरिहेका छन् ।
केहीबेर अघि उपाध्यक्ष बामदेव गौतको निवास भैसेपाटीमा भएको छलफलमा नेताहरुबीच सहमतिमा संसदीय दलको नेता छान्ने विषयमा सहमति जुट्न सकेन । भैंसेपाटीबाट केन्द्रीय कार्यालय बल्खु पुगेका नेताहरु ५ मिनेट जति मात्र केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए । बैठकले चुनावी प्रक्रियामा जाने ढोका खोलेको हो । बैठकमा अध्यक्ष खनालले मात्र बोलेका थिए । उनले सहमति गरेरै जाँदा राम्रो हुने भन्दै अझै सहमतिका लागि प्रयास गरिने बताए ।
गौतम निवासको बैठकमा खनाल-नेपाल पक्षबाट अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधव नेपाल, सुरेन्द्र पाण्डे, भिम रावल र घनश्याम भुसाल तथा ओली-गौतम पक्षबाट नेता केपी ओली उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल, सचिवद्वय शंकर पोखरेल र विष्णु पौडेल सहभागी थिए । शिर्ष नेतासहितको छुट्टै बैठक चलिरहेकाले केन्दि्रय समितिको ११ बजे बस्ने भनिएको बैठक समयमा बस्न सकेन ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भने चुनावी चहल पहल सुरु भइसकको छ । निर्वाचन समितिले २ देखि ३ बजेसम्म उम्मेद्वारी दर्ता र ४ बजे मतदान गर्नेगरी कार्यक्रम प्रकाशित गरेको सभासद् दिपक कार्कीले जानकारी दिए । विद्युतीय मतदान मेसिनबाट चुनाव मतदान गर्ने तयारी छ ।
गौतम निवासमा को छलफल अगाडि सोमबार राति अध्यक्ष खनाल, ओली र गौतमबीच खनाल निवास डल्लुमा  छलफल भएको थियो । उक्त छलफलमा ओली गौतमले पार्टीलाई प्राप्त हुने प्रमुख राजकीय पदहरुमा सर्वसम्मत रुपमा अघि बढ्ने आश्वासन दिदै खनाललाई उम्मेद्वारी नदिने आग्रह गरेका थिए । (इकान्तिपुर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang