२७ माघ, काठमाडौं । एमाले संसदीय दलका नेता केपी ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई एकलौटीरुपमा अघि नबढ्न चेतावनी दिएका छन् ।
कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको संसदमा समर्थन गर्दै ओलीले राम्रा काममा सुशील कोइरालालाई प्रधानमन्त्रीको रुपमा एमालेको पूर्ण समर्थन र साथ सहयोग रहने बताए । ‘उहाँ (कोइराला)ले प्रधानमन्त्रीका रुपमा देशलाई संविधान निर्माणदेखि लिएर सरकार निर्माण सञ्चालनका कुराहरुमा उपयुक्त ढंगले निर्णय गर्नुहुनेछ’ ओलीले भने ‘तर, खोलो तर्यो, लौरो बिर्सियो भयो भने यो दलीय व्यवस्था हो र यो सदन सजग सदन हो भन्ने कुरा हामी सबैले स्मरण गरौं भन्ने चाहन्छौं ।’
एमालेले देशको हितलाई केन्द्रमा राखेर कोइरालालाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै उनले दलीय स्वार्थ देखिए एमालेले खबरदारी गर्ने बताए । ‘हामी देशको हितलाई केन्द्रमा राखेर चलिरहेका छौं र म देशले सुन्ने गरी भनिरहेको छु हामी त्यसैगरी चल्छौं’ चेतावनीपूर्ण भाषामा ओलीले भने-’ तर, ती उद्देश्यभन्दा दलीय स्वार्थ अगाडि अगाडि लाग्यो भने गाउँ खाने कथामा भन्छन् नि खै खै दाइ, म अगाडि जाउँ भनेर दलीय स्वार्थहरु अगाडि-अगाडि लागेको देखियो भने एमाले सरकारलाई खबरदारी पनि गर्छ । ताली मात्र बजाउन जाने भन्ने होइन ।’
एमाले संसदीय दलका नेता ओलीले अब बन्ने मन्त्रिपरिषद् देख्दा पनि मान्छेले नाक खुम्च्याउने खालको हुन नहुने समेत बताए । एमाले राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहे पनि एक वर्षभित्र संविधान निर्माण गर्न राष्ट्रपति-उपराष्ट्रपतिलाई संविधानसभामा अनुमोदन गर्न सहमत भएको बताए । उनले भने-’संविधान निर्माणको मर्मलाई केन्द्रमा राखेर हामीले राष्ट्रपतिको चुनावबाट लचक भएर अनुमोदनमा नयाँ बाटो रोजेका हौं ।’
ओलीले २४ मिनेट बोलेर आफ्नो ‘संक्षिप्त मन्तव्य’ भनेपछि संसदमा हाँसो छाएको थियो । पछि बोल्ने क्रममा राप्रपा नेपालका कमल थापाले आफूले पनि पूर्ववक्ता माननीयले जस्तै संक्षिप्त मन्तव्य दिने बताएएर थप हँसाएका थिए ।अनलाइनखबर डटकम

Post a Comment