काठमाडौ, माघ १९ - सरकारमा सहभागी हुन वा बाहिर रहेर समर्थन जनाउन सबै दल तयार नभएपछि सहमतीय सरकार निर्माणको सम्भावना समाप्त भएको छ । संविधानसभामा सबैभन्दा ठूलो दल कांग्रेसले सहमतीय सरकारका लागि आइतबार गरेको अन्तिम प्रयास पनि विफल भएको छ ।
राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार निर्माणका लािग दिएको म्याद आइतबार सकिदैंछ । सहमतीय सरकारका लागि सहमति जुटाउन अन्तिम पटक प्रयास गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको थियो ।
सहमतीय सरकारको सम्भावना समाप्त भएपछि दलहरु त्यसका लागि फेरि समय थपको माग नगर्ने निष्कर्षमा पुगेको छ ।दलहरुको तर्फबाट नेपाली कांग्रेसले राष्ट्रपति यादवलाई टेलिफोन गरेर सहमतीय सरकार निर्माणको प्रयास विफल भएकाले त्यसका लागि समय नथप्न र बहुमतीय पद्धतिबाट सरकार निर्माणको प्रक्रिया थालनीको आग्रह गरिसकेको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बताए ।
बैठकमा एमाओवादी र राप्रपाले सरकारलाई समर्थन पनि नगर्ने र विपक्षमा बस्ने अडान लिएको थियो । उनीहरुले गुण दोषका आधारमा समथर्न र बिरोध गर्ने धारणा राखे ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमतीय सरकार नबन्ने भएपछि एमालेसंगको गठबन्धनमा सरकार निर्माण गरिने बताए । एमाले सहित १३ दलले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन जनाउने जनाएको छ ।
बैठकपछि एमाले अध्यक्ष झलनाथ खनाललले कांग्रेसले सम्मानजनक प्रस्ताव ल्याएको अवस्थामा मात्रै आफ्नो पार्टी सरकारमा जाने बताए ।
(इकन्तिपुर डटकम)

Post a Comment