मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Wednesday, February 5, 2014

२० रुपैयाँमा टेलिकमको अनलिमिटेड भ्वाइस कल

विष्णु पोखरेल
 काठमाडौँ : नेपाल टेलिकमले प्रति महिना २० रुपियाँमा अनलिमिटेड भ्वाइस कलको प्याकेज घोषणा गरेको छ। कम्पनीको १० औँ वार्षिकोत्सका अवसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले विभिन्न छुटको प्याकेज घोषणा गरेका हुन्। 

भट्टराईका अनुसार सिडिएमए प्रिपेड सेवामा राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्कभित्र हुने फोनमा प्रति महिना २० रुपियाँमा जति पनि कुरा गर्न सकिन्छ। यस्तो नाइट कल प्याकेज आजदेखि तीन महिनासम्म दिइनेछ।

मोबाइल सेवामा अनलिमिटेड
भ्वाइस कलको सुविधा दिइएको नेपालमा यो पहिलो अवसर हो।

वार्षिकोत्सवका अवसरमा अरु पनि विभिन्न छुट प्याकेजको घोषणा गरिएको छ।

पोस्टपेडलाई डाटा निःशुल्क

त्यसैगरी जिएसएम र सिडिएमए दुवै किसिमका पोस्टपेड मोबाइलका ग्राहकहरुले प्रति महिना ५० एमबी डाटा निःशुल्क पाउनेछन्। यो सुविधा टेलिकमले आजदेखि तीन महिनासम्म दिनेछ। 

पोस्टपेडको ग्राहक शुल्क दर पनि घटाइएको छ। यसअघि २ हजार १ सय ३० रुपैयाँ ग्राहक शुल्क रहेकोमा अब १ हजार ४ सय ३० रुपियाँ मात्र पर्नेछ। 

५५ पैसामा फोन

यसअघि जिएसएम सेवामा मात्र रहँदै आएको फ्रेन्ड्स एन्ड फेमिली सेवा अब सिडिएमएको प्रिपेड र पोस्टपेडमा पनि उपलब्ध हुनेछ। यसमा ग्राहकले कुनै निश्चित तीन नम्बर छान्न पाउँछन्। ती नम्बरमा फोन गर्दा सिडिएमए पोस्टपेडमा प्रति मिनेट ५५ पैसा र प्रिपेडमा ७५ पैसा पर्नेछ। 

इभिडियोमा अवधि थप

त्यसैगरी इभिडियो सेवामा समयावधि दोब्बर बनाइएको छ। २ जिबी, ५ जीबी र १० जीबीको प्याकेजमा यसअघिको समयावधि १ महिना रहेकोमा अब २ महिना रहनेछ। यसैगरी नयाँ २५ एमबी र ३०० एमबीको डाटा प्याकेज क्रमशः २ दिन र १५ दिनको समयावधि कायम गरी वितरण गरिनेछ।

२० पैसामा एसएमएस 

यस्तै, बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि नेपाल सरकारबाट मान्यता प्राप्त संघसंस्थाबाट जारी प्रमाणपत्रको आधारमा रु १०० मा त्यति नै रकम टक भ्यालु रहेको सिम/रिम कार्ड बिक्री गर्ने र त्यसबाट कम्पनीकै नेटवर्कमा एसएमएस गर्दा आजदेखि तीन महिनाका लागि प्रति एसएमएस २० पैसा मात्र लाग्ने व्यवस्था गरिएको छ। 

टेलिकमले परीक्षणको रुपमा कम्पनीको आधिकारिक फेसबुक पेज र जिएसएम ग्राहकका लागि एन्ड्रोइड एप पनि सञ्चालनमा ल्याइएको जानकारी भट्टराईले दिए। (अन्नपूर्णपोस्ट डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang